नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा तलै रहने विश्व ब्यांकको प्रक्षेपण
बहुपक्षीय ऋणदाता विश्व ब्यांकले चालू आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत पनि नपुग्ने प्रक्षेपण गरेको छ।
ब्यांकले बुधबार दक्षिणएशियाबारेको प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित रहने अनुमान गरेको हो।
गत साता एशियाली विकास ब्यांकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको थियो। सरकारले चालू आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ।
विश्व ब्यांकले आगामी आर्थिक वर्ष २०७९/८० मा नेपालले ४.१ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सक्ने अनुमान गरेको छ। ब्यांकले चालू आर्थिक वर्षमा ६ प्रतिशत र आगामी वर्ष ५.७ प्रतिशतको उपभोक्ता मूल्यवृद्धि हुन सक्ने अनुमान गरेको छ।
त्यस्तै, सन् २०२२ मा दक्षिणएशियाको आर्थिक वृद्धिदर ६.६ प्रतिशत र सन् २०२३ मा ६.३ प्रतिशत रहने ब्यांकको अनुमान छ।
विश्व ब्यांकले नेपालको बाह्य क्षेत्र सन्तुलनलाई मुख्य आर्थिक चुनौतीका रूपमा रहेको उल्लेख गरेको छ। पछिल्लो समयमा नेपालले उच्च शोधनान्तर घाटा खेपिरहेको छ भने विदेशी विनिमयको सञ्चिति पनि घट्दो छ।