कतिपयलाई नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पूरा हुँदैन: अर्थ मन्त्री
अर्थ मन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धराशायी नहुने प्रष्ट पारेका छन्।
शुक्रबार नेपाल राष्ट्र ब्यांकले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थ मन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंका जस्तो हुने कुरामा कुनै सत्यता नरहेको बताए।
“अहिलेको अर्थतन्त्रमा समस्या आउला कि भनेर चिन्ता गर्नेहरूलाई धेरै धन्यवाद दिनुपर्छ। किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालालाई सतर्क बनाइरहेको छ,” शर्माले भने, “कतिपयलाई भने नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पूरा हुँदैन।”
नेपाल र श्रीलंकाबीच तुलनै नहुने भएकाले अर्थतन्त्र श्रीलंका जस्तो नहुने उनको भनाइ थियो। “हाम्रो ऋण र उत्पादनको अवस्था, बिदेशी लगानी, ऋण सहायता लगायतका तथ्यांक हे¥यौं भने श्रीलंकासँग तुलना नै हुन सक्दैन। तुलना हुनै नसक्ने विषयलाई लिएर एकथरीले जनतालाई जुन हिसाबले आतंकित बनाउने काम गरिरहेका छन्, त्यसको तपाई हामी सबै मिलेर खण्डन गर्नुपर्छ,” उनले भने।
श्रीलंकासँग तुलना गरेर नेपालको अर्थतन्त्र पनि धराशयी हुन्छ भन्दै बहस गर्नेलाई सकारात्मक भई दबाबमा रहेको नेपालको अर्थतन्त्र सुधारका विषयमा चिन्तन गर्न उनले अपील गरे। “हाम्रा प्राथमिकता, लिनुपर्ने नीति, आवश्यकता लगायतका विषयमा बहस गरेर दबाबमा रहेको हाम्रो अर्थतन्त्रलाई माथि उठाउनका लागि बहस गरौं,” अर्थ मन्त्री शर्माले भने।
क्रिप्टोकरेन्सी, हाइपर फन्ड लगाायतका कारण नेपालबाट ‘क्यापिटल फ्लाई’ भइरहेको सूचना आफूले पाँच महीनाअघि नै पाएर राष्ट्र ब्यांकलाई जानकारी गराएको पनि उनले बताए। तर, यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैद्य रुपमा पैसा बाहिरिन थालेको उनको भनाइ थियो। उनले राष्ट्र ब्यांकको नियमन र अनुसन्धानकारी भूमिका प्रभावकारी नभएको संकेत गर्दै असन्तुष्टि पनि जनाए।
अर्थतन्त्र यतिवेला दबाबमा रहेको उल्लेख गर्दै उनले सबै क्षेत्रबाट सहयोग लिएर सुधार गर्नुपर्ने खाँचो रहेको बताए। मुलुकभित्र भएका स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने, मुलुक भित्रै उत्पादनजन्य गतिविधि तथा ठूला पूर्वाधारको निर्माण थालेर रोजगारी सिर्जना गर्नुपर्ने र निर्यात वृद्धिको पहल गर्नुपर्ने चुनौती रहेको उनको भनाइ थियो।