नेपालमा गङ्गा नदी बेसिन सम्बन्धी ‘नेक्सस गेन्स’ पहल कार्यक्रमको शुरूआत
जल, ऊर्जा, खाद्य र पारिस्थितिकीय प्रणालीको बहुआयामिक लाभ लिन अन्तरसम्बन्धित र एकीकृत अनुसन्धानात्मक पहलको थालनी गरिएको छ।
अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थान, इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्यूट तथा जलस्रोत तथा सिंचाइ विभागको सहकार्यमा गङ्गा नदी बेसिन सम्बन्धी ‘नेक्सस गेन्सः समग्र जल, ऊर्जा, खाद्य र पारिस्थितिकीय प्रणालीमा अन्तरसम्बन्धको बहुलाभ’ शीर्षकमा विकास अनुसन्धानको पहल शुरू गरिएको हो।
काठमाडौंमा बुधबार यस सम्बन्धी कार्यक्रमको शुरूआत गरिएको हो। कार्यक्रममा जल, ऊर्जा, खाद्य र पारिस्थितिकीय प्रणालीका क्षेत्रबीचको अन्तरसम्बन्ध पहिल्याएर एकीकृत व्यवस्थापन र विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिए।
अन्तर्राष्ट्रिय कृषि अनुसन्धान परामर्श समूहको विश्वव्यापी पहलको रूपमा रहेको नेक्सस गेन्सले पूर्वी र दक्षिण अफ्रिका (ब्लू नाइल र लिम्पोपो बेसिन), मध्य एशिया (अरल सागर बेसिन) र दक्षिणएशिया (गङ्गा र सिन्धु बेसिन) का सीमापार अन्नबाली भण्डार बेसिनहरूमा जल, ऊर्जा, खाद्य र पारिस्थितिकीय प्रणालीरूको अध्ययन अनुसन्धान गर्नेछ।
कार्यक्रमको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपालको सामाजिक-आर्थिक विकासका लागि पानी महत्त्वपूर्ण स्रोत रहेको र ऊर्जा, खाद्य र पारिस्थितिकीय प्रणालीका क्षेत्रहरूसँग मिलेर लाभ लिन आवश्यक रहेको बताइन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्ध गुरुङले नेपालमा ठूला प्रणालीगत सोचलाई सहयोग गर्ने प्रमाण, साधन र पद्धतिहरू सिर्जना गर्न अनुसन्धानात्मक विकासको पहल अघि बढाउनुपर्ने बताए।
राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधान सिंहले महिला र बालबालिका लगायत सङ्कटासन्न समूहहरूमा जलवायु परिवर्तनको प्रभावलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरालाई पहिल्याउनुपर्ने बताइन्।
नेक्सस गेन्स पहलकदमीको अगुवाइ गर्दै प्राध्यापक स्टेफान उलेनब्रुकले समावेशी, दिगो विकासका लागि एकीकृत व्यवस्थापनको जल, ऊर्जा, खाद्य र पारिस्थितिकीय प्रणाली प्रणाली आवश्यक रहेकोमा जोड दिए। उनले यस्तो पहल जलवायु उत्थानशीलता निर्माणका लागि पनि महत्त्वपूर्ण रहेको बताए। अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थानकी नेपाल प्रतिनिधि डा. मनोहरा खड्काले जलवायु सङ्कटको समयमा जल, ऊर्जा, जमीन, खाद्य, वन र जैविक विविधता स्रोतहरूको एकीकृत व्यवस्थापनले सामाजिक-आर्थिक रूपान्तरण र लैङ्गिक समानता हासिल गर्न सहयोग पुग्ने बताइन्।
कार्यशालामा सहभागीले नेपालमा जल, ऊर्जा, खाद्य र पारिस्थितिकीय प्रणाली नेक्सस पद्धतिलाई प्रवर्द्धन र संस्थागत गर्ने अवसर एवं चुनौतीबारे आफ्ना विचार साझेदारी गर्नुका साथै गङ्गा बेसिनमा नेक्सस गेन्स पहलको ढाँचाभित्र रहेर गर्न सकिने सम्भावित गतिविधि औंल्याए।
सहभागीले जल, ऊर्जा, खाद्य र पारिस्थितिकीय प्रणाली रूपान्तरणका चुनौतीका लागि स्थानीय समाधानमा पनि जोड दिए। यस क्रममा समतामूलक खाद्य, ऊर्जा र जल सुरक्षाका लागि यी प्रणालीको रूपान्तरणलाई समग्रमा गङ्गानदी बेसिनमा र विशेष गरी नेपालमा कसरी हासिल गर्न सकिन्छ भन्ने कुरामा पनि सहभागीले आफ्ना विचार व्यक्त गरेका थिए।