नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमै सीमित हुने: एडीबी
एशियाली विकास ब्यांक (एडीबी) ले चालू आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर सरकारले दाबी गरे जति नहुने आकलन गरेको छ।
एशियन डेभलपमेन्ट आउटलूक २०२२ सार्वजनिक गर्दै ब्यांकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने अनुमान गरेको हो। सरकारले चालू आर्थिक वर्षको बजेटमा सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य सार्वजनिक गरेको थियो।
सरकारी अधिकारीहरूले पनि अर्थतन्त्रमा माग धेरै सिर्जना भएका कारण उच्च आर्थिक वृद्धि हुने बताउँदै आएका थिए। तर, एडीबीले भने वृद्धिदर ३.९ प्रतिशत हुने आकलन सार्वजनिक गरेको हो। एडीबीले आगामी आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुन सक्ने प्रक्षेपण गरेको छ।
आर्थिक वृद्धिदर न्यून भए पनि उपभोक्ता मूल्यवृद्धि दर भने उच्च हुने एडीबीले अनुमान गरेको छ। यो वर्ष उपभोक्ता मूल्यवृद्धि दर ६.५ प्रतिशत पुग्ने एडीबीको प्रतिवेदनमा उल्लेख छ।
नेपाल राष्ट्र ब्यांकका अनुसार, माघसम्म मूल्यवृद्धि दर ६ प्रतिशत हाराहारी पुगिसकेको छ। गत आर्थिक वर्षमा औसत मूल्यवृद्धि दर ३.६ प्रतिशत मात्रै थियो।
एडीबीका अनुसार, गत आर्थिक वर्ष २०७७/७८ मा आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित थियो। सरकारले भने अहिलेसम्म गत आर्थिक वर्षको आर्थिक वृद्धिदरको तथ्याङ्क सार्वजनिक गरेको छैन।
गत वर्ष अर्थतन्त्रमा एक चौथाइ योगदान गर्ने कृषि क्षेत्रको वृद्धिदर २.४ प्रतिशत भएको थियो। त्यसै गरी उद्योग क्षेत्र १.७ प्रतिशत, सेवा क्षेत्र २.५ प्रतिशतले बढेको एडीबीको तथ्याङ्क छ।
एडीबीले उच्च व्यापार घाटा नेपालको अर्थतन्त्रका लागि चुनौती रहेको उल्लेख गरेको छ।