कस्तो छ आगामी तीन दिनको मौसम?
न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वा क्षणिक वर्षा हुने भएको छ।
भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव देशभर परेको छ। यससँगै स्थानीय वायुको प्रभावका कारण आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ। त्यस्तै, राति पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
यसै गरी बिहीबार दिउँसो प्रदेश १, मधेश र बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रबार पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ।
तराई भू-भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।