प्रधानमन्त्री देउवा १८ चैतमा भारत भ्रमणमा जाँदै
प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने भ्रमणका लागि भारत जान लागेको जनाएको छ।
उनको भ्रमण दलमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा, परराष्ट्र मन्त्री नारायण खड्का सहित अन्य मन्त्री र उच्च सरकारी अधिकारीको सहभागिता हुनेछ।
परराष्ट्र मन्त्रालयले यो भ्रमणबाट पुरानो द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास लिएको छ। प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति भेनकाया नायडूसँग पनि भेटघाट गर्नेछन्।
१९ चैतमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री मोदीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन्।
भ्रमणका दौरान प्रधानमन्त्री देउवाले भारतका उद्योगी व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम छ।
नेपाल फर्किनुअघि प्रधानमन्त्री देउवाले बनारसको समेत भ्रमण गर्ने जारी विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्री देउवा २० चैतमा नेपाल फर्किनेछन्।