कसैले भनेर केही हुँदैन, गठबन्धन टुट्दैन : दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तीनवटै निर्वाचनमा गठबन्धन हुने बताएका छन्।
भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले स्थानीय निर्वाचनमा पनि गठबन्धन हुने बताएका हुन्। उनले स्थानीय निर्वाचन मात्रै नभएर प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलबीच गठबन्धन गर्ने सहमति भएको बताए।
माओवादी अध्यक्ष दाहालले भने, “गठबन्धन त भइरहेकै छ नि, गठबन्धन टुट्दैन। अहिलेकै गठबन्धन स्थानीय मात्र होइन, प्रादेशिक र सङ्घीय निर्वाचनसम्म पनि रहन्छ।”
नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्ला स्तरका नेताले भरतपुरमा प्रमुखको दाबी नछाड्ने बताउँदै आएका छन्। त्यस विषयमा सोधिएको प्रश्नमा दाहालले भने, “चितवन कांग्रेसले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौं भनेको छैन, केही मान्छेले मात्रै भनेका हुन्।”
भरतपुर महानगरपालिकामा दाहालकी छोरी रेनु दाहाल मेयर छिन्। यसअघि नेपाली कांग्रेससँगको तालमेलमा उनी निर्वाचित भएकी हुन्।
माओवादीले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने र दाहाललाई दोहोर्याउने जनाउँदै आएको छ। जिल्ला स्तरमा कांग्रेसले भने गठबन्धन हुँदा भरतपुर महानगरमा आफ्नो उम्मेदवार हुनुपर्ने दाबी गरिरहेको छ।
दाहाल आफ्नो निर्वाचन क्षेत्र माडी र भरतपुरमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आएका हुन्। उनी माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण, सडक उद्घाटन, आयोजना निरीक्षण, नमूना चेपाङ बस्ती उद्घाटन, पुल उद्घाटन र भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्ने लगायत कार्यक्रममा सहभागी हुनेछन्।