नेविसंघ अध्यक्षमा शेर्पा र तरुण दलमा गुरुङ
नेपाली विद्यार्थी संघ र नेपाल तरुण दलको तदर्थ समितिको अध्यक्ष मनोनीत गरिएको छ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघको केन्द्रीय तदर्थ समितिको अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पालाई नियुक्त गरेका हुन्। त्यस्तै, तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई अध्यक्ष तोेकेका छन्।
नेविसंघ र तरुण दलको केन्द्रीय अधिवेशन गर्नका लागि अध्यक्ष नियुक्त गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। मुख्य सचिव पौडेलद्वारा जारी विज्ञिप्तमा केन्द्रीय कार्य सम्पादन समितिको निर्णय अनुसार, उनीहरूलाई अध्यक्ष नियुक्त गरिएको उल्लेख छ।
दुवै अध्यक्षलाई स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महीनाभित्र केन्द्रीय अधिवेशन गर्न समय दिइएको छ।
स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा तोकिएको छ। प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका विषयमा कुनै निर्णय भएको छैन।