सत्तारूढ गठबन्धन सामाजिक फासीवादतिर अग्रसर: ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ पाँच दलीय गठबन्धन सामाजिक फासीवादतिर अग्रसर भएको आरोप लगाएका छन्।
काठमाडौंमा बुधबारदेखि शुरू भएको एमालेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनलाई यस्तो आरोप लगाएका हुन्। राजनीतिक प्रतिवेदनको ‘निषेध, ध्रुवीकरण र घृणाको राजनीतिक’ शीर्षकमा भनिएको छ, “प्रतिपक्षलाई ‘समाप्त गर्ने’, ‘धूलोपीठो पार्ने’ र ‘बदला लिने’ जस्ता अभिव्यक्तिले सत्तारूढ नेताहरूका अलोकतान्त्रिक अभिव्यक्तिहरूले उनीहरूमा न्यूनतम लोकतान्त्रिक आचारण समेत नभएको स्पष्ट पारेको छ र उनीहरू सामाजिक फासीवादतिर अग्रसर हुँदै गरेको सङ्केत गरेको छ।”
उनले प्रतिपक्ष विरुद्ध गरिएको गठबन्धनलाई पनि सही नभएको जिकिर गरेका छन्। ओलीले प्रतिवेदनमा भनेका छन्, “सत्ताले प्रतिपक्षका विरुद्ध गठबन्धन गर्ने, धम्कीको भाषा प्रयोग गर्ने र हिंसालाई दुरुत्साहन गर्ने कुरा लोकतन्त्रमा अपेक्षा गरिंदैन।”
आफ्नो नेतृत्वमा सरकार हुँदा प्रतिपक्षसँग पनि सरसल्लाह लिने गरेको बताएका छन्। अहिलेको सरकारले त्यसको विपरीत निषेधको बाटो अपनाएको उनको आरोप छ। “जनादेशलाई निषेध गर्दै बनेको वर्तमान सरकार र गठबन्धनका नेताहरू उल्टो बाटो हिंडिरहेका छन्,” प्रतिवेदनमा भनिएको छ, “मुलुकलाई सहमति र समझदारीतिर होइन, द्वन्द्व र ध्रुवीकरणतिर धकेलिरहेका छन्।”
एमाले केन्द्रीय कमिटी बैठक दुई दिनसम्म चल्नेछ। बैठकले स्थानीय तहको चुनावको तयारी लगायत विषयमा निर्णय गर्ने जनाइएको छ।