यसरी छनोट गरिंदै छ एमालेमा स्थानीय उम्मेदवार
आगामी स्थानीय निर्वाचनमा उम्मेदवार छनोटका लागि नेकपा (एमाले) ले मापदण्ड तयार गरेको छ।
एमालेको सचिवालय बैठकले स्थानीय तहको चुनावका लागि उम्मेदवार छनोटको मापदण्ड तयार गरेको हो। यससँगै सचिवालयले बैठकले उम्मेदवार छनोट गर्ने विषयमा पनि जिम्मेवारी तोकेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव हुँदै छ। त्यसका लागि एमालेले पनि उम्मेदवार छनोट गर्ने मापदण्ड बनाएर मातहतका कमिटीलाई पठाउने भएको हो।
स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष र सदस्यको उम्मेदवारको सिफारिश वडा कमिटीले गर्ने भएको छ। त्यसका आधारमा जिल्ला कमिटीले टिकट दिने निर्णय गर्नेछ।
यसै गरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको सिफारिश जिल्ला कमिटीले गर्ने मापदण्ड तय गरिएको छ। त्यसका आधारमा प्रदेश कमिटीले टिकट दिने निर्णय गर्नेछ।
यस्तै, महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टिकटका लागि जिल्ला र प्रदेश कमिटीले सिफारिश गर्ने मापदण्ड बनाइएको छ। दुवै कमिटीले गरेको सिफारिशका आधारमा एमाले केन्द्रीय कमिटीले टिकट दिने निर्णय गर्ने गुरुङले बताए।
यससँगै स्थानीय चुनावको रणनीति बनाउन एमालेले ७ चैतमा पोलिटब्यूरो बैठक बोलाएको छ। त्यस्तै, ९ र १० चैतमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। केन्द्रीय कमिटी बैठकपछि १३ चैतमा स्थायी कमिटी बोलाइएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले स्थानीय निर्वाचनका लागि घोषणापत्र निर्माण पनि निर्णय गरेको छ।