स्थानीय तह वा स्थानीय सरकार जे भने पनि काम गर्नुपर्छ: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह वा स्थानीय सरकार जे भने पनि काममा ध्यान दिनुपर्ने बताएका छन्।
नेपाल नगरपालिका संघको २९औं साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ भन्ने व्यवस्था बनाउन सकिने बताए। स्थानीय तहलाई स्थानीय सरकार बनाउन समस्या नरहेको तर कुराभन्दा काम गरेर देखाउन उनले सुझाए।
“तह र सरकार भन्ने कुरा ठूलो होइन। तह हटाएर सरकार नै राखिदिउँला,” प्रधानमन्त्री देउवाले भने, “जे भने पनि काम गर्न पर्यो। जनताको मन जित्ने काम गर्न आवश्यक छ।”
जनताले स्थानीय तहको कामलाई हेरेर व्यवस्थाबारे आफ्ना धारणा बनाउने भएकाले शहरहरूलाई व्यवस्थित, सफा, स्वच्छ र विकसित बनाउन नगरपालिकाले काम गर्नुपर्ने बताए।
नगरपालिकाका जनप्रतिनिधिले संविधानले तीन तहको सरकारको परिकल्पना गरे पनि समयमा कानून बन्न नसक्दा काममा गति आउन नसकेको गुनासो गरे। त्यस्तै, नगरपालिकालाई छुट्याएको बजेट कम भएको बताए। संघका महासचिव भीम ढुंगानाले राजनीति दलको संलग्नता बिर्सेर स्थानीय विकास गर्न नै आएको बताए।
कार्यक्रममा उत्कृष्ट काम गर्ने सात नगरपालिकालाई पुरस्कृत गरिएको छ। संस्थागत विकासतर्फ स्याङ्जाको वालिङ र पुतलीबजार, शहरी योजना तथा विपद् व्यवस्थापनमा धादिङको नीलकण्ठ नगरपालिका पुरस्कृत भएका छन्। वन, वातावरण र जलवायु परिवर्तन तथा उत्थानशीलताको क्षेत्रमा इलाम नगरपालिका र स्थानीय आर्थिक विकासमा सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट भएका छन्। त्यस्तै, सामाजिक विकासमा रुपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको राप्ती नगरपालिका उत्कृष्ट भएका छन्।
नगरपालिकाले गरेका कामको प्रभाव जनताले घरदैलोमा पाएको नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जुले बताए। उनले स्थानीय तहको सामाजिक, आर्थिक, भौतिक विकासको परिवर्तन र न्यायिक अभ्यासमा जनप्रतिनिधिले सराहनीय काम गरेको बताए।