एमालेसँग सहमतिका लागि छलफल गरेका थियौं: दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियताका मुद्दामा सहमतिका लागि नेकपा (एमाले) सँग छलफल गरिएको भए पनि सफल हुन नसकेको बताएका छन्।
विराटनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले सहमतिका लागि एमाले नेताहरू सकारात्मक नदेखिएको बताए। अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गर्नुअघि माओवादी नेताहरूले एमाले नेताहरूसँग छलफल गरेका थिए। अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको अफर गरेको समेत सार्वजनिक भएको थियो।
आगामी स्थानीय चुनावमा एमाले लगायत वामपन्थी दलसँग सहकार्यको सम्भावनाका विषयमा सोधिएको प्रश्नमा दाहालले भने, “म र नारायणकाजी लगायतका साथीहरूले राष्ट्रियताका विषयमा एमालेसँग केही समझदारी हुन्छ कि भनेर कुरा गर्न गएका थियौं। तर, एमालेमा एकदम नकारात्मक, निषेधात्मक र अहङ्कार बाहेक केही छैन। उनीहरूको सकारात्मकता देखिएन।”
उनले अन्य वामपन्थी दलसँग सहकार्य हुन सक्ने बताए। “एमालेको केपी गुटसँग तत्काल केही समझदारी, सहमति हुँदैन। अरूसँग हुन सक्छ।”
उनले आगामी स्थानीय चुनावमा सकभर एक्लै लड्ने बताए। “गठबन्धन पहिलो कुरा होइन। पहिलो आफ्नै खुट्टामा उभिने हो, आफ्नो जनआधार बनाउने हो। संगठन बलियो बनाउने हो,” दाहालले भने।