वाम शक्तिलाई एकताबद्ध बनाउँछौं : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम शक्तिलाई एकताबद्ध बनाउने बताएका छन्।
शनिबार एकीकृत समाजवादीको धादिङको गल्छी गाउँपालिका अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी चुनावमा मिलेर जाने प्रयास गर्ने बताए। “सबैलाई साथमा लिएर जाने हाम्रो प्रयास हुनेछ,” नेपालले भने, “वाम शक्तिलाई एकताबद्ध बनाउने हाम्रो उद्देश्य हुनेछ।”
स्थानीय चुनावमा तालमेल हुने ठाउँमा तालमेल गर्ने र नभएको ठाउँमा एक्लै लड्ने बताए। “कसैलेसँग तालमेल भयो भने तालमेल गरौंला। एउटा वडामा एउटालाई अध्यक्ष, अर्कोलाई सदस्य मिलाऔंला,” उनले भने, “एक्लै जित्ने ठाउँमा एक्लै पनि लड्नेछौं।” त्यसका लागि तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए।
नेकपा (एमाले)लाई भने आगामी चुनावमा पराजित गर्ने उनको भनाइ थियो। “राष्ट्रिय सभाका १९ वटा सिटमा चुनाव भयो, त्यसमा १८ वटा सिटमा जितेर केपी ओलीको पार्टीलाई धुलो चटाइ दियौं,” नेपालले भने, “त्यो पार्टीको भविष्य छैन।”
कमजोर बन्दै गएको महसुश भएर नै एमाले नेताहरू गालीगलौचमा उत्रिएको उनको भनाइ थियो। “विचराहरूको अनुहार चाउरिएको छ। उनीहरू बडबडाउन थालेका छन्, गालीगलौच गर्न थालेका छन्,” नेपालले भने।