माओवादी पदाधिकारी टुङ्ग्याउने तयारी, कुन पदमा कसको दाबी?
नेकपा (माओवादी केन्द्र) को आज बोलाइएको केन्द्रीय समितिको बैठकबाट पदाधिकारीको टुङ्गो लगाउने तयारी गरिएको छ।
दुई महीनाअघि सम्पन्न माओवादीको आठौं महाधिवेशनबाट अध्यक्षमा पुष्पकमल दाहाल चयन भएका थिए। उनीसँगै केन्द्रीय सदस्य पनि चयन गरिएको थियो। तर, आन्तरिक खिचातानीले अहिलेसम्म पदाधिकारी चयन हुन सकेका छैनन्।
पदाधिकारी चयनका लागि २० फागुनमा केन्द्रीय समिति बैठक बोलाइएको थियो। पहिलो दिन सामान्य छलफल भए पनि पदाधिकारी चयनका लागि गृहकार्य गर्नुपर्ने भन्दै अध्यक्ष दाहालले एक दिन समय लिएका थिए।
त्यसपछि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो। आजको बैठकमा पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता दिने, पोलिटब्यूरो र स्थायी कमिटी गठन गर्ने अजेन्डा रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए।
गत ११ गते १८ पुसमा चलेको महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समिति र १५ सदस्यीय पदाधिकारी रहने गरी विधान संशोधन गरेको थियो। जस अनुसार, एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन्।
अहिले पदाधिकारीका लागि नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, देव गुरुङ, पम्फा भुसाल लगायतले दाबी गरेका छन्।
जसमा पुन, शर्मा, भुसाल र गुरुङले महासचिवमा दाबी गरेका छन्। माओवादीमा अध्यक्षपछि महासचिव शक्तिशाली पद हो।