पल विरुद्धको मुद्दामा जथाभावी लेख्ने अनलाइनलाई बन्द र युट्युब च्यानललाई कारबाहीको सिफारिश
कलाकार पल शाहमाथि लागेको बलात्कारको आरोपमा भइरहेको अनुसन्धानलाई प्रभावित पार्ने गरी समाचार लेख्ने सञ्चार माध्यमलाई कारबाही गर्न प्रेस काउन्सिलले सिफारिश गरेको छ।
बलात्कारको आरोपमा कलाकार शाह प्रहरी हिरासतमा छन्। उनीमाथि जिल्ला प्रहरी कार्यालय, तनहुँले अनुसन्धान गरिरहेको छ।
यसमा केही सञ्चार माध्यम र सामाजिक सञ्चालमा वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरी नाम, तस्वीर, भिडिओ सामग्री सम्प्रेषण गरिएको पाइएको काउन्सिलले जनाएको छ।
यसरी आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइनलाई सचेत गराइएको काउन्सिलका प्रवक्ता दीपक खनालले जनाएका छन्। उनीहरूलाई अबदेखि ‘आचारसंहिता प्रतिकूल हुने सामग्री सम्प्रेषण नगर्न/नगराउन’ पत्र पठाइएको छ।
यस्तै, सूचना तथा सञ्चार विभागमा दर्ता नभएका १० अनलाइनलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको उनले जनाएका छन्।
यससँगै १६ युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोलाई सिफारिश गरिएको छ। ती युट्युब च्यानल कुनै पनि मिडिया अन्तर्गत नभएको पाइएको काउन्सिलले जनाएको छ।