माओवादी सिद्धिन्छ, माधववाला पार्टी बनेकै छैन: केपी ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सकिने र नेकपा (एकीकृत समाजवादी) अझै पार्टी बन्न नसकेको दाबी गरेको छन्।
झापाको बिर्तामोडमा शनिबार सुखानी शहीद स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई कसैले हराउन नसक्ने बताए। अब कसै गरी पनि माओवादी अगाडि बढ्न नसक्ने र नेपाल नेतृत्वको एकीकृत समाजवादी अझै पार्टी बन्न नसकेको उनको भनाइ थियो।
आगामी चुनावमा माओवादीलाई जनताले भोट दिए वा नदिए पनि सकिने ओलीको दाबी थियो। “भोट हाल, भोट नहाल। खाल्डोमा सुत या भुइँमा सुत। पक्की घरमा सुत, कच्ची घरमा सुत। छाप्रो बनाएर सुत, कुटीमा बस। तर, माओवादी केन्द्र भन्ने पार्टी सिद्धिन्छ, सिद्धिन्छ,” ओलीले भने।
माओवादी सकिन्छ भनेर आफूले २२ वर्षअघि नै भनेको स्मरण गरे। २०५६ सालमै माओवादी सकिन्छ भनेको बताउँदै ओलीले भने, “दश वर्ष उग्रपन्थ माथि चढ्छ, दश वर्षपछि ओरोलो लाग्छ र दश वर्षमा लगभग सिद्धिन्छ।”
माओवादी २०५२ देखि २०६२ सम्म उकालो लागेको उनको विश्लेषण थियो। त्यस्तै, २०६२ देखि २०७२ सम्म ओरालो लागेको जिकिर गर्दै ओलीले अब सकिने वेला आएको दाबी गरे। २०७४ सालमा आफूले जोगाएको उनको भनाइ थियो।
एमाले अध्यक्ष ओलीले भने, “२०७२ सालमा आइपुग्दा लगभग सिद्धियो। २०७४ मा फेरि मैले नै पम्प हाल्दिएको हुनाले अलिकति सुध्रिएर गयो।”
त्यस्तै, एमाले विभाजन भएर बनेको नेपाल नेतृत्वका एकीकृत समाजवादी अझै पार्टी बन्न नसकेको उनको भनाइ थियो। “माधववाला पार्टी चिचिलामै समाप्त हुन्छ,” ओलीले भने, “पार्टी बनेकै छैन, त्यो बन्दै बन्दैन, नबनीकन समाप्त भएर जान्छ।”
धेरै समय माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादी अध्यक्ष नेपालकै आलोचनामा खर्चिएका ओलीले कांग्रेसको विषयमा भने केही बोलेनन्।