दुई महीनापछि सामान्य अवस्थामा फर्कियो काठमाडौं, सबै प्रतिबन्ध हटे
कोभिड-१९ को तेस्रो लहरका कारण लगाइएको प्रतिबन्धात्मक व्यवस्था हटेको छ भने काठमाडौं उपत्यका दुई महीनापछि सामान्य अवस्थामा फर्किएको छ।
काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सबै प्रतिबन्धात्मक व्यवस्था हटाउने निर्णय गरेको हो। कोरोनाभाइरसको सङ्क्रमण कम हुँदै गएकाले प्रतिबन्धात्मक व्यवस्था हटाउने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जनाएका छन्।
तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकपछि ललितपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा २१ फागुनदेखि लागू हुने गरी सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको जनाइएको छ। अब सबै क्रियाकलाप पूर्ववत् रूपमा गर्न पाइने भएको छ।
सूचनामा भनिएको छ, ‘हाल कोभिड-१९ को सङ्क्रमण घट्दै गएकाले मिति २०७८/११/२१ देखि लागू हुने गरी प्रचलित कानून बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, व्यावसायिक लगायतका क्रियाकलापहरू प्रचलित स्वास्थ्य मापदण्डको पालना गरी, गराई नियमित रूपमा सञ्चालन गर्न, गराउन यसअघि जारी भएका आदेशहरूमा भएका प्रतिबन्धात्मक व्यवस्थाहरू पूर्ण रूपमा हटाइएको व्यहोरा जानकारी गराइन्छ।’