पाँच जनाको ज्यान लिएको बाघ खोरमा
पाँच जनाको ज्यान लिएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको खोरमा राखिएको छ।
यो बाघको आक्रमणबाट बाँकेमा पाँच जनाको ज्यान गएको थियो। त्यसपछि खटिएको बाँके डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो। त्यसलाई बाँकेबाट चितवन ल्याएर खोरमा राखिएको हो।
विशेष हेरविचार गर्ने चिकित्सक सहित बाघलाई खोरमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए। “बाँके राष्ट्रिय निकुञ्जमा खोर बन्दै गरेकाले उक्त बाघ अहिले चितवन ल्याइएको हो, यसलाई तत्काल जङ्गलमा छाडिंदैन, पछि अवस्था हेरेर चिडियाखानामा पठाउन सकिन्छ,” आचार्यले भने। कसराको खोरमा राखिएको बाघलाई दैनिक चारदेखि ६ किलो राँगाको मासु दिइने गरिएको छ।
कहिलेकाहीं मरेको जङ्गली जनावरको मासु पनि दिइन्छ। खोरमा भएको अवस्थामा केही स्वास्थ्य समस्या परेमा चिकित्सकले यसको स्वास्थ्य परीक्षण गर्छन्।
प्रमुख संरक्षण अधिकृत आचार्यले कसरामा राखेर बाघको दैनिक बानीव्यहोराको अध्ययन गरिने बताए।
२२ माघमा बाँकेको राप्तीसोनारी गाउँपालिका-४ की लीला विष्टमाथि बाघले आक्रमण गरेको थियो। सामुदायिक वनमा घाँस-दाउराका लागि जङ्गल जाँदा आक्रमणमा परेकी उनको ज्यान गएको थियो।
त्यसको दुई दिनपछि राप्ती सोनारी-६ की चाँदनी थारूलाई सोही बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट उनको पनि ज्यान गएको थियो।
त्यसअघि बाघको आक्रमणबाट एक भारतीय नागरिकको ज्यान गएको थियो। त्यस्तै केही समयअघि स्थानीय दुर्गा थारू सोही बाघको आक्रमणबाट घाइते भएकी थिइन्।
फागुन पहिलो सातामात्रै बाघको आक्रमणबाट स्थानीय धनबहादुर चलाउनेको मृत्यु भएको थियो। त्यसपछि बाघको आक्रमणबाट वकील गद्दी घाइते भएका थिए।
पटक पटक मानिसलाई आक्रमण गर्दै ज्यान लिने बाघलाई बुधबार डिभिजन वन कार्यालय बाँकेले नियन्त्रणमा लिएको हो। राप्ती सोनारी-६ राप्ती पीडित सामुदायिक वनबाट नियन्त्रणमा लिइएको बाघलाई वन प्रशासनले बाँके राष्ट्रिय निकुञ्जमा बुझाएको थियो।
बाँके राष्ट्रिय निकुञ्जका कर्मचारीले बाघलाई डार्ट गरेर (लठ्याएपछि) गाडीमा हालेर चितवन ल्याइएको हो। बाघ नियन्त्रणका लागि वन डिभिजन कार्यालयले २६ माघदेखि पाडो राखी सामुदायिक वनका कर्मचारी, भेटेरेनरी चिकित्सक, नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मी सहितको जनशक्ति परिचालन गरेको थियो।