भूतपूर्व गोर्खा सैनिकको मागबारे वार्ता गर्न प्रतिनिधिमण्डल गठन
सरकारले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका सम्बोधन हुन बाँकी माग सम्बन्धमा वार्ता गर्न बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गरेको छ।
मन्त्रिपरिषद्को १६ फागुनमा बसेको बैठकले बेलायतसँग वार्ता गर्न राजदूत आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। भूतपूर्व गोर्खा सैनिकहरूले निवृत्तिभरण, क्षतिपूर्ति लगायत विषयमा विभिन्न माग अघि सारेका छन्।
उनीहरूले २२ वर्ष नोकरी पूरा गरेका बेलायती गोर्खाहरूले अन्य बेलायती सिपाही सरह दर्जा अनुसारको पूर्ण निवृत्तिभरण पाउनुपर्ने, २१ वर्षको उमेरमा सेवा शुरू गरी १६ वर्ष नोकरी अवधि पूरा गरेका गोर्खा अधिकृतले अन्य बेलायती अधिकृत सरह दर्जा अनुसारको पूर्ण निवृत्तिभरण पाउनुपर्ने, १५ वर्ष नोकरी अवधि पूरा गरेका गोर्खा सिपाहीले २२ वर्ष सेवा गरेका अन्य बेलायती सिपाहीले पाए जस्तै दर्जा अनुसारको निवृत्तिभरण समानुपातिक दरमा पाउनुपर्ने लगायत माग राखेका छन्।
सन् १९७५ अघि नोकरीबाट बर्खास्त गरिएकाहरूलाई एक पटकका लागि एकमुष्ट रकम दिइनुपर्ने, गोर्खाहरूलाई ऐतिहासिक अन्याय भएको हुँदा दर्जा र सेवाको अवधि अनुसार अन्यायको क्षतिपूर्ति पाउनुपर्ने, भारतीय गोर्खाहरूले नेपालमा पाए सरह हुने गरी बेलायती गोर्खाहरूका लागि नेपालमा औषधोपचारको व्यवस्था हुनुपर्ने, भूतपूर्व बेलायती गोर्खा र तिनका परिवारलाई वार्षिक ९० दिन नेपाल जान पाउने सुविधा दिनुपर्ने माग पनि उनीहरूले राखेका छन्।