एमसीसी अनुमोदन गर्न एमालेको पनि सहयोग : कांग्रेस
अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्न प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को पनि सहयोग रहेको नेपाली कांग्रेसले जनाएको छ।
कांग्रेसले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाशशरण महतले एमाले पनि एमसीसीको पक्षमै रहेको जिकिर गरे। “एमसीसी सम्झौता पारित गर्ने सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अन्य कारणले संसदीय प्रक्रियामा सहभागी हुन नसके पनि एमसीसीको पक्षमा नै थियो,” प्रवक्ता महतले भने, “एमाले अध्यक्ष र अधिकांश नेताले यसका सन्दर्भमा प्रकट गर्नुभएका विचार र अभिव्यक्तिले यो सम्झौता पारित गर्न र सकारात्मक जनमत सिर्जना गर्न ठूलो सहयोग गरेको छ।”
आइतबार एमसीसी अनुमोदन हुँदा एमाले सांसद भने प्रतिनिधि सभामा नाराबाजी गरिरहेका थिए। नेकपा (एकीकृत समाजवादी) मा गएका १४ सांसदलाई गरिएको कारबाही सदर गर्न माग गर्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ।
प्रतिनिधि सभाले व्याख्यात्मक घोषणा सहित आइतबार एमसीसी सम्झौता अनुमोदन गरेको छ। अब यसलाई कार्यान्वयनमा लग्नुपर्ने प्रवक्ता महतले बताए।
त्यसका लागि संसद्ले पनि भूमिका खेल्नुपर्ने उनको भनाइ थियो। “एमसीसीबाट प्राप्त अनुदानको सदुपयोग हुन सकोस्। यस सहयोग मार्फत निर्माण हुने आयोजना गुणस्तरीय रूपमा निर्धारित समयमा निर्माण हुन सकून्। यसले नेपालको विकास प्रशासनलाई थप पारदर्शी र उत्तरदायी बनाउन सघाउन सकोस्,” महतले भने, “संसद्बाट पारित भएकाले यसको अनुगमन र मूल्याङ्कन गर्ने जिम्मेवारी संसद्मा पनि आएको छ।”