एमसीसी पारित भएकोमा खुशी छु: दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहायता परियोजना एमसीसी पारित भएकोमा खुशी भएको बताएका छन्।
खुमलटारस्थित निवासमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष दाहालले एमसीसी सम्झौताबारे जानकारी दिएका हुन्। यसअघि पनि पटक पटक पारित गर्ने प्रयास भएको बताउँदै उनले भने, “लामो समयपछि एमसीसी पारित भएकोमा खुशी छु।”
एमसीसी सम्झौता आफ्नै सरकारको पालामा शुरू गरेको उल्लेख गरे। “हाम्रै सरकारको पालामा शुरू भएको हो,” दाहालले भने, “त्यति वेला हामी सबै खुशी थियौं, कसैको विमति र विवाद थिएन।”
नेकपाको सरकारको वेलामा आएर एमसीसी विवादित भएको उनको भनाइ थियो। तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली अमेरिकाको भ्रमणमा गएपछि यो विवादित भएको जिकिर गरे। यसलाई संसद्बाट अनुमोदन गर्ने भनिएपछि विवाद भएको उनको भनाइ थियो।
नेकपाको सरकारले संसद्मा दर्ता गर्दा पनि आफूले यसलाई पारित गर्ने उपाय सुझाएको उनको भनाइ थियो। “मैले त्यति वेलै कांग्रेस सभापति शेरबहादुर देउवाजीसँगको छलफलमा भनेको थिएँ, एमसीसीसँगै विवादित विषयमा व्याख्या गरेर एउटा प्रस्ताव पनि पारित गरौं,” दाहालले भने, “तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक अक्षर पनि बदल्न सकिंदैन भनेका थिए। त्यसपछि अगाडि बढ्न सकेको थिएन।”
अहिले सबैको प्रयासमा अनुमोदन भएको बताउँदै अब सबै मिलेर कार्यान्वयनमा लग्नुपर्ने उनको भनाइ थियो।