गठबन्धनबाट अलग भएको जनमोर्चाको घोषणा
राष्ट्रिय जनमोर्चाले सत्तारूढ पाँच दलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार प्रेस विज्ञप्ति जारी गरी गठबन्धनबाट अलग भएको घोषणा गरेका हुन्। जनमोर्चाको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो।
“पाँच दलीय गठबन्धनभित्रको हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसद्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनुपर्ने औचित्य समाप्त भएको छ,” अध्यक्ष केसीले भनेका छन्, “गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षति पुगेकाले त्यसबाट हाम्रो पार्टी आजकै मितिदेखि अलग भएको घोषणा समेत गर्दछौं।”
एमसीसीलाई प्रतिनिधि सभाबाट अनुमोदन गराउन अपनाइएको मतदान प्रक्रियामा पनि जनमोर्चाले विरोध जनाएको छ। “सम्पूर्ण नेपाली जनता सडकमा उत्रेको अवस्थामा जालझेल गरेर ध्वनि मतका आधारमा त्यसलाई पारित गरियो। यदि अल्पमत बहुमतको विधि अनुसार मत विभाजन गरेको भए एमसीसीलाई विद्यमान अवस्थामा अनुमोदन गर्न सरकारका लागि मुश्किल पर्ने भएको हुनाले नै ध्वनि मतको सहारा लिएर अनुमोदन गर्ने काम भएको छ,” जनमोर्चाले भनेको छ, “सरकारको यस प्रकारको तानाशाही तथा निरंकुश प्रवृत्तिको हामी घोर विरोध तथा भण्डाफोर पर्दछौं।”
जनमोर्चाले एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीलाई पनि औचित्यहीन भनेको छ। “एमसीसी सम्झौता संसद्द्वारा षड्यन्त्रमूलक ढङ्गबाट पारित गर्नुका साथै सम्झौताको व्याख्यात्मक प्रस्ताव पनि पारित गरिएको छ। उक्त कथित व्याख्यात्मक प्रस्तावलाई समेत हाम्रो बैठकले औचित्यहीन ठहर गरेको छ,” जनमोर्चाले भनेको छ।
यससँगै जनमोर्चाको केन्द्रीय सचिवालयले बैठकले एमसीसी विरुद्ध देशव्यापी विरोध कार्यक्रम गर्ने भएको छ। १९ देखि २२ फागुनसम्म जिल्ला र स्थानीय तह स्तरमा विरोध सभा गर्ने जनाएको छ।