रूसी आक्रमण विरुद्ध काठमाडौंमा प्रदर्शन
रूसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ।
शान्ति समाजको अगुवाइमा सोमबार काठमाडौंको बौद्धनाथ स्तूप अगाडि प्रदर्शन गरिएको हो। प्रदर्शनमा उत्रिएका अधिकारकर्मी तथा सर्वसाधारणले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका छन्। उनीहरूले मैनबत्ती बोकेर युक्रेनी नागरिकको जीवनरक्षाका लागि आह्वान गरेका छन्।
युक्रेनी नागरिकको जीवनरक्षा र रूसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै प्रदर्शन गरिएको शान्ति समाजले जनाएको छ। उनीहरूले ‘रूसः तत्काल युद्ध रोक, मानवता विरुद्धको अपराध बन्द गर, युक्रेनी जनताको जीवन रक्षा गर, युक्रेनमा रहेका सबै मानिसको जीवनरक्षा गर, तत्काल सैनिक फिर्ता गरी युद्ध रोक’ लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाईं र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव नम्रता खरेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, अपिल समिति संयोजक बलबहादुर गाहा मगर, केन्द्रीय सदस्यहरू चन्द्रमणि बञ्जारा, किरण ढकाल र उमा गौतम, काठमाडौं शाखा कार्यवाहक सभापति भगवान पुडासैनी, पूर्व सभापति ईश्वर पुडासैनी, शाखा सचिव प्रमोद फुँयाल लगायतको सहभागिता थियो।
यस्तै, रूसी आक्रमणको विरोध र तत्काल युद्ध रोक्न आग्रह गर्दै शान्ति समाजले विराटनगरमा र तुलसीपुरमा पनि प्रदर्शन गरेको छ।