क्यासिनोबाट उठ्यो ८१ करोड रोयल्टी
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनोबाट ८१ करोड रुपैयाँ रोयल्टी उठेको छ।
८ फागुनसम्म सरकारको खातामा क्यासिनोहरूबाट ८१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए। “रोयल्टी नतिर्ने क्यासिनोले पनि रोयल्टी तिर्न थालेका छन्, अहिलेसम्म हाम्रो खातामा ८१ करोड जम्मा भयो, अरू केही कम्पनीले रोयल्टी तिर्नका लागि कागजपत्र लगेका छन्, केही दिनमा अरू पनि रकम आउँछ,” उनले भने।
मन्त्री आलेले केही दिन पहिले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएका थिए। त्यसपछि क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेको पर्यटन विभागले जनाएको छ।
पर्यटन विभागका अनुसार, हालसम्म १७ क्यासिनोले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाएका छन् भने गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिले नयाँ क्यासिनो सञ्चालन गरे बापत दुई करोड ५० लाख रुपैयाँ रोयल्टी बुझाएको छ। अब सरकारलाई क्यासिनो सञ्चालकले तिर्नुपर्ने बक्यौता रकम एक अर्ब ११ करोड ८४ लाख ४७ हजार रहेको विभागले जनाएको छ।
यसै गरी मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौंसम्म पनि नतिर्ने काठमाडौंको दरबारमार्गमा रहेको होटेल याक एन्ड यतीको लाइसेन्स खारेज गरिएको छ। अब ६ वटा कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ। (रासस)