नुवाकोटका बासिन्दाको अवरोधले काठमाडौंमा थुप्रियो फोहोर
नुवाकोटका बासिन्दाको अवरोधका कारण नौ दिनदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन। जसले गर्दा शहरका चोक दुर्गन्धित भएका छन्।
अहिले फोहोर विसर्जन गरिंदै आएको नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो समयमै मर्मत नगरेको भन्दै पासाङल्हामु राजमार्ग क्षेत्रका बासिन्दाले अवरोध गरेका छन्। सडक अवरुद्ध हुँदा १ फागुनदेखि काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहको फोहोर उठ्न सकेको छैन।
जसले गर्दा उपत्यकाका मुख्य चोकमा फोहोर थुप्रिएको छ। काठमाडौं महानगरपालिकाले भने सडक विभागलाई तत्काल सडक मर्मतको काम पूरा गरी स्थानीय बासिन्दाको अवरोध हटाइदिन आग्रह गरेको छ।
अठार स्थानीय तहको फोहोर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटक पटक समस्या उत्पन्न भएको काठमाडौं महानगरको वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ। उनका अनुसार, २०७० सालदेखि शुरू गरिएको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक पटक स्थानीय बासिन्दाले आन्दोलन गरेर फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन्।
“यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ,” उनले भनिन्, “त्यसका लागि बाटो छिटो निर्माण गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ।”
सडक बनाउने जिम्मेवारी सङ्घीय सरकारको भए पनि उपत्यकाको फोहोर पटक पटक रोकिंदा अपजस भने स्थानीय सरकारले पाउने गरेको छ। हाल बन्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापन स्थल निर्माण भइरहेको र निर्धारित समयमा काम सम्पन्न नहुँदा समस्या भएको बताइएको छ।
सरकारले छिटोभन्दा छिटो दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको अन्यथा आगामी बर्खाका समयमा झन् ठूलो समस्या आउने जनाइएको छ। काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। उक्त स्थान पनि भरिएकाले फोहोर व्यवस्थापनमा थप समस्या हुन थालेको हो।
हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापन स्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको महानगरले जनाएको छ। (रासस)