‘त्रिविलाई सुधार्न राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्छ’
राजनीतिक हस्तक्षेप र भागबण्डाले धमिलिएको त्रिभुवन विश्वविद्यालय सुधार्न नागरिक समाज र प्रबुद्ध वर्गले हस्तक्षेप गर्न ढिला भइसकेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।
ज्ञान–गोष्ठीले आयोजना गरेको ‘त्रिभुवन विश्वविद्यालयको सङ्कटमोचन’ संवादमा बोल्दै वक्ताहरूले त्रिविमा विकृतिको चाङ रहेको र समस्या समाधानको एउटा मात्र समाधान नभएको बताए। “विकृतिका एउटा कारण दलको फेरो समातेर पदमा जाने प्रवृत्ति पनि हो,” प्राध्यापक खड्ग केसीले भने, “भागबण्डाको प्रवृत्ति संस्थागत हुँदा विकृतिका चाङ लाग्दै गएका छन्।”
समस्या र विकृतिका बावजूद पनि त्रिविमा केही राम्रा प्रयास भएको उनले बताए। “सेवा आयोगको छनोट प्रक्रिया प्रतिस्पर्धी भएको छ, १० करोड रुपैयाँको रिसर्च फन्ड बनेको छ, बौद्धिक चोरी विरुद्धको सफ्टवेयरबाट थेसिस जाँच हुन थालेको छ,” केसीले भने। विश्वविद्यालयलाई प्राज्ञिक केन्द्र बनाउन दलगत राजनीतिबाट पर राख्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रमका अर्का वक्ता प्राध्यापक त्रिरत्न मानन्धरले त्रिविको साख धमिलिंदै जाँदा आफूलाई ग्लानि हुन थालेको बताए। नयाँ शिक्षाले केन्द्रीकृत शिक्षा पद्धतिलाई अघि बढाउँदा त्रिविले मार खेपिरहेको उनको भनाइ थियो। “गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका सामुदायिक क्याम्पसलाई नयाँ शिक्षा पद्धति लागू भएपछि सरकारीकरण गरिंदा सञ्चालकहरू पन्छिए, देशभरका क्याम्पसलाई त्रिवि एक्लैले हाँक्न खोज्दा समस्यामाथि समस्या थपियो,” मानन्धरले भने।
२०४६ सालअघिको ‘एक विश्वविद्यालय’ को अवधारणाले गर्दा पनि देशभरका क्याम्पसको भार त्रिविलाई परेको र त्यसलाई व्यवस्थापन गर्न नसक्दा समस्या चुलिंदै गएको उनको भनाइ थियो। “देशभरका सबै क्याम्पसलाई त्रिवि एक्लैले व्यवस्थापन गर्न सक्दैन भन्ने आत्मसात् गर्दै अब भएका सबै विश्वविद्यालयलाई कसरी पुन:संरचनामा लान सकिन्छ भन्नेतर्फ सोच्नुपर्छ,” उनले भने। उनले अहिले त्रिविमा भइरहेको तालाबन्दीको कारण खोजेर समाधान खोज्नुपर्ने बताए।
त्यस्तै, प्राध्यापक राजकुमार पोखरेलले पनि आन्दोलन वा तालाबन्दी गर्ने प्रवृत्ति त्रिविमा विकृति बनेर मौलाइरहेकाले विश्वविद्यालय आफ्नो आदर्श र लक्ष्यबाट पर भएको बताए। “राजनीतिक गुटको षडयन्त्रले त्रिवि बिग्रेको हो। विगतमा आन्दोलनको माग शैक्षिक सुधार हुने गरेको थियो भने हाल विद्यार्थी संगठनको माग ‘दानापानी’ हुने गरेको छ,” उनले भने।
त्रिविमा बारम्बार तालबान्दी र आन्दोलन भइरहँदा नागरिक समाजले बोल्न नसकेको उनको भनाइ थियो। “विकृति भएको छ भने नागरिक समाजले त विकृति भयो भनेर बोल्न सक्नुपर्यो नि!” प्राध्यापक पोखरेलले भने, “समाजको आलोचनाको स्वर कता हरायो?”
जबसम्म राजनीतिक पार्टीले आफ्नो दलभित्रको विकृति र विसङ्गति विरुद्ध अभियान चलाउँदैनन् तबसम्म समाज सुध्रिन नसक्ने उनको भनाइ थियो। “विकृत राजनीतिकै प्रभाव त्रिविमा परेको हो। राजनीति सुध्रियो भने त्रिवि सुध्रिन्छ,” उनले भने।
त्यस्तै, प्राध्यापक डम्बर चेम्जोङले त्रिविको भीमकाय स्वरूप नै समस्याको जड भएको बताए। राज्य पुन:संरचनाको कुरा भइरहँदा त्रिविलाई भने झन् झन् केन्द्रीकृत गर्ने मानसिकतामा परिवर्तन आउन नसक्नु विडम्बना भएको उनको भनाइ थियो। “ताप्लेजुङको ओलाङचुङगोलाका परीक्षार्थीको उत्तरपुस्तिका ढाडमा बोकाएर ल्याई बल्खुमै जाँच गर्नुपर्ने? के त्यो उत्तरपुस्तिका उतैको केन्द्रमा जाँच्न सकिन्न?” उनको प्रश्न थियो।
प्राध्यापक चेम्जोङले त्रिविका पदाधिकारीमा शासकीय मनस्थिति हावी हुँदा यसको पुन:संरचना हुन नसकेकोे बताए। “त्रिविको ठूलो आकारलाई खण्डीकृत गर्दा समस्या पनि खण्डीकृत हुन्छन् र तिनको समाधान सहज हुन्छ,” उनले भने।