एमसीसीमा केही असहमति छन्, संसद्मै छलफल हुन्छ: मन्त्री झाँक्री
नेकपा (एकीकृत समाजवादी) की नेत्री एवं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामा भएका असहमतिका विषयमा संसद्मै छलफल हुने बताएकी छन्।
सोमबार प्रतिनिधि सभामा एमसीसी टेबल भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री झाँक्रीले त्यस विषयमा संसद्बाटै स्पष्ट गरिने बताइन्। “एमसीसीमा केही असहमति छन्,” मन्त्री झाँक्रीले भनिन्, “संसद्मा खुल्ला छलफल गरौं। हामीलाई स्पष्ट हुने र जनतालाई सही सूचना दिने मौका पनि मिल्छ भनेर हाम्रो पार्टीको सर्वसम्मत निर्णय हो।”
एमसीसी सम्झौतालाई संशोधन गर्ने थलो संसद् नै भएको उनको भनाइ थियो। उनले भनिन्, “एमसीसी संशोधनका विषयमा संसद्ले विकल्प खोज्छ, त्यसमा सरकारले सहजीकरण गर्छ।”
एमसीसी सम्झौताको विषयले एकीकृत समाजवादी विभाजन हुन सक्ने वरिष्ठ नेता झलनाथ खनालले चेतावनी दिएका थिए। त्यसमा बोल्दै मन्त्री झाँक्रीले भनिन्, “हामी साझा धारणा बनाएरै आएका थियौं। हामी साझा धारणा बनाएकै कारणले अरू पार्टीमा पनि एमसीसी टेबल गर्न दिने सहमति बनेको हो। यस विषयले पार्टी फुट्छ भन्ने मलाई लाग्दैन।”
एकीकृत समाजवादीको शनिबार बसेको स्थायी समितिले बैठकले एमसीसी संसद्मा टेबल गर्न दिने निर्णय गरेको थियो। त्यसपछि आज बसेको सत्तारूढ गठबन्धनको बैठकमा सहमति जुटेको हो।
सत्तारूढ गठबन्धनमा सहमति जुटेसँगै आजको प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता टेबल भएको छ।