पहाडमा वर्षा, तराईमा हुस्सु र कुहिरो लाग्ने
पश्चिमी न्यून प्रणालीको प्रभावले फेरि देशका पहाडी भूभागमा वर्षा हुने तथा तराईमा हुस्सु र कुहिरो लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले केही दिन पश्चिमी न्यून प्रणालीको प्रभाव रहने जनाएको छ। जसले गर्दा अहिले पहाडी भूभागमा आंशिक बदली भएको छ भने तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
आज राति पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुनेछ।
सोमबार दिउँसो पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
सोमबार राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने महाशाखाको आकलन छ।
मंगलबार दिउँसो पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मंगलबार राति पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ।