एमसीसी लागू भएका कुनै पनि देशमा सेना परिचालन भएको छैन: शशांक कोइराला
नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट पारित गर्नुपर्ने बताएका छन्।
काठमाडौंमा शुक्रबार सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिंदै डा. कोइरालाले एमसीसी लागू भएका कुनै पनि देशमा अमेरिकी सेना परिचालन नभएको बताए। उनले भने, “एमसीसी लागू भएका कुनै देशमा सेना परिचालन भएको पनि छैन।”
डा. कोइरालाले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई एमसीसी वा सत्ता गठबन्धनमा कुनै एक रोज्न सल्लाह दिएका छन्। “एमसीसी पारित गर्ने हो भने गठबन्धन टुट्ने देखिन्छ, गठबन्धन राख्ने हो भने एमसीसी छोड्नुपर्यो,” डा. कोइरालाले भने।
उनले प्रधानमन्त्री देउवालाई एमसीसीभन्दा गठबन्धन छोड्न सुझाए। “यत्रो ठूलो अनुदान हतपती कुनै देशले दिंदैन। यसको पछाडि कुनै स्वार्थ छ जस्तो लाग्दैन। मेरो विचारमा एमसीसी र सत्ता गठबन्धनमध्ये एमसीसी नै रोज्नुपर्छ,” डा. कोइरालाले भने।