एमसीसीबारे आइतबार निर्णय हुन्छ: मन्त्री कार्की
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा आइतबार सत्तारूढ गठबन्धनले निर्णय गर्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता कार्कीले एमसीसी सम्झौता संसद्मा पेश गर्ने विषयमा प्रयास भइरहेको बताए। “गठबन्धनको बैठकमा आज सङ्क्षिप्त छलफल भयो। आइतबार बस्ने अर्को बैठकमा निर्णय हुन्छ,” कार्कीले भने।
आजै बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच दाहाल निवास खुमलटारमा छलफल भएको थियो। त्यसपछि बसेको गठबन्धनको बैठकमा दुवै पार्टीले एउटै धारणा राखेको जनाइएको छ।
माओवादी र एकीकृत समाजवादीले गठबन्धनको बैठकमा राखेको धारणाबारे सोधिएको प्रश्नमा मन्त्री कार्कीले भने, “हामी एमसीसीलाई टुङ्गोमा पुर्याउन चाहन्छौं। टुङ्गोमा पुर्याउने विषयमै उहाँहरूले धारणा राख्नुभयो।”
त्यस्तै, शुक्रबार राति प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए। प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भएको भेटवार्ताका विषयमा कार्कीले भने, “संसद्लाई सुचारु गरेर एमसीसीबारे गम्भीर र जीवन्त छलफल हुनुपर्छ। यसैका लागि प्रधानमन्त्री प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीजीलाई भेट्न जानुभएको हो।”
दुवै नेताबीच एमसीसी सम्झौतालाई संसद्बाट पारित गर्ने विषयमा सकारात्मक छलफल भएको कार्कीले जानकारी दिए।