एमसीसीबारे सत्ता गठबन्धनमा जुटेन सहमति
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल गर्न बोलाइएको सत्तारूढ गठबन्धन दलको बैठक विना निष्कर्ष सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठक विना निष्कर्ष टुङ्गिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
बैठकबारे जानकारी दिंदै मन्त्री कार्कीले भने, “१६ फागुनभन्दा पहिला नै एमसीसी सम्झौता संसद्बाट पारित गर्ने दिशामा छलफल केन्द्रित छ, दलहरूको संवाद जारी छ।”
सत्ता गठबन्धनका सबै दल आआफ्नो अडानमा कायम बसेपछि बैठक निष्कर्षविहीन भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने र १६ फागुनयता पारित गर्ने प्रस्ताव गरेका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने अवरुद्ध संसद् सञ्चालनलाई शर्त बनाएका थिए।
नेपाली कांग्रेस एमसीसी संसद्बाट अनुमोदन गराउनुपर्ने पक्षमा छ भने नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) यसको विपक्षमा छन्।
शुक्रबार बिहान ९ बजे यो विषयमा छलफल गर्न गठबन्धनको पुनः बैठक बस्ने भएको छ।