निर्वाचन आयोगमा तीन नयाँ दल दर्ता, १०६ पार्टी पुगे
निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको सङ्ख्या १०६ पुगेको छ।
पछिल्लो पटक जनता प्रगतिशील पार्टी, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगमा यसअघि १०३ दल दर्ता भएका थिए।
३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले १५ फागुनभित्र दल दर्ता आह्वान गरेको छ।
दल दर्ताका लागि संविधान र राजनीतिक दल सम्बन्धी ऐन अनुसार आयोगमा दर्ता भएका कुनै पनि दलले तोकिएको निर्वाचनमा भाग लिन दल दर्ता गराउनुपर्छ। दल दर्ताका लागि निवेदन दिंदा दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिह्नको नमूना, कम्तीमा २१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखा परीक्षण प्रतिवेदन लगायत कागजात तथा विवरण पेश गर्नुपर्नेछ।
विधान र नियमावली लोकतान्त्रिक, पाँच वर्षमा एक पटक सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको तथा विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिनिधित्वको व्यवस्था भएको हुनुपर्ने जस्ता शर्त सहितका कागजात समेत दर्ताको समयमा पेश गर्नुपर्नेछ।
राजनीतिक दलको विधानमा दलको नाम, झण्डा, छाप, चिह्न, कार्यालयको ठेगाना, सङ्गठनात्मक संरचना, सदस्यता प्राप्त र गुम्ने अवस्था, केन्द्रीय, प्रदेश र स्थानीय तहको विवरण, महाधिवेशन सम्बन्धी व्यवस्था, बैठक बोलाउने र निर्णय गर्ने कार्यविधि लगायतको व्यवस्था उल्लेख हुनुपर्ने व्यवस्था छ।
दलको कोष, आर्थिक व्यवस्थापन र त्यसका जिम्मेवार पदाधिकारी, उम्मेदवार मनोनयन कार्यविधि, अनुशासन कारबाही र पुनरावेदन सुन्ने संयन्त्र, लेखा परीक्षण, नीति तथा कार्यक्रम निर्माणमा सदस्य तथा तल्ला निकायको सहभागिता, विधान संशोधन, विघटन, नियमावली बनाउने अधिकार, सदस्यता र नवीकरण शुल्क लगायत विषय विधानमै उल्लेख हुनुपर्नेछ।