एमसीसी राष्ट्रको हितमा छ: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका पक्षमा बोल्न डराउन नहुने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको नेपाली कांग्रेसको संक्षिप्त इतिहास पुस्तक विमोचन गर्दै देउवाले संसद्बाटै एमसीसी सम्झौताको टुङ्गो लगाउनुपर्ने बताए। एमसीसी सम्झौता राष्ट्रको हितमा रहेको बताउँदै प्रधानमन्त्री देउवाले भने, “एमसीसीका पक्षमा उभिन डराउनु हुँदैन। यो राष्ट्रको हितमा छ।”
यसलाई संसद्बाट टुङ्गो लगाउने पहल गरिरहेको देउवाले बताए। कांग्रेस संसदीय दल र कार्य सम्पादन समितिबाट यसलाई पारित गर्ने निर्णय भइसकेको उल्लेख गर्दै देउवाले भने, “पास फेल जे हुन्छ, संसद्बाटै गर्नुपर्छ। त्यसका लागि पहल गरिरहेको छु।”
एमसीसी सम्झौताका विषयमा छलफल गर्न आजै सत्तारूढ गठबन्धनको बैठक बोलाइएको छ। आज बिहान प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तामा बेलुकी ५ बजे गठबन्धनको बैठक बस्ने तय भएको छ।