चार न्यायाधीश विरुद्ध महाअभियोग लगाउने चर्चाबीच एमाले संसदीय दलको बैठक बस्दै
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाअभियोग प्रस्ताव दर्तापछि विकसित घटनाक्रमबारे छलफल गर्न नेकपा (एमाले) संसदीय दलको बैठक बस्दै छ।
सोमबार बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद् भवनमा बोलाइएको बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई विरुद्ध महाअभियोग लगाउने विषयमा चर्चा हुने एमाले नेताहरूले बताएका छन्।
प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रमाथिको षड्यन्त्र भएको ठहर गरेको एमालेले सत्ता गठबन्धनलाई ‘काउन्टर’ दिन चार न्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने चर्चा छ।
यद्यपि, यो विषयमा कुनै निर्णय भइनसकेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए। “अहिले सबै विषय छलफलमा छ, ठोस निर्णय ११ बजेको बैठकपछि सार्वजनिक गर्छौं,” भट्टराईले हिमालखबरसँग भने।
एमाले केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले भने महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो।
आइतबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदले प्रधानन्यायाधीश जबरा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। जबराले पदीय जिम्मेवारी पूरा नगरेको लगायत २१ वटा आरोप लगाइएका छन्।