महाअभियोग प्रस्तावबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफल गर्न नेकपा (एमाले) को सचिवालय बैठक बस्न लागेको छ।
एमालले अध्यक्ष केपी शर्मा ओलीले आजै साँझ ६ बजे सचिवालय बैठक बोलाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। अध्यक्ष ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने भएको हो।
यससँगै अध्यक्ष ओलीले सोमबार बिहान ११ बजे संसदीय दलको बैठक पनि बोलाएका छन्। बैठकमा प्रधानन्यायाधीश जबरा विरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्तावबारे छलफल हुने जनाइएको छ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९५ जना सांसदले प्रधानन्यायाधीश जबरा विरुद्ध आज बिहान संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्। प्रस्तावमा जबरालाई पदीय आचरण अनुसार काम नगरेको लगायत २१ आरोप लगाइएका छन्।