हामीलाई कसैले परास्त गर्न सक्दैन : दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादीलाई कसैले पराजित गर्न नसक्ने बताएका छन्।
खुमलटारमा मंगलबार नेक्रविक्रम चन्द नेतृत्वको नेकपाका जुम्ला इन्चार्जसहित कार्यकर्तालाई माओवादीमा स्वागत गर्दै अध्यक्ष दाहालले क्रान्तिका सहयात्रीहरू एकैठाउँमा आउनुपर्ने बताए। परिवर्तनबाट प्राप्त उपलब्धीलाई बचाउन लागि पनि माओवादी शक्तिहरू एकजुट हुन आवश्यक भएको उनको भनाइ थियो।
उनले जनतासँग जोडिनुपर्नेमा जोड दिए। “जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं,” अध्यक्ष दाहालले भने, “हामीलाई कसैले परास्त गर्न सक्दैन।”
माओवादीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरू घेरा हाल्न खोजेको जिकिर गरे। “माओवादीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्,” दाहालले भने, “हामी यति ठूलो परिवर्तनका बहाकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ।”
यसका लागि सबै माओवादीहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो। विभाजनका घाउहरु बिर्सिदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै एक ठाउँमा आउनुको विकल्प नभएको दाहालले बताए।