मन्त्री रेणु यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग एमालेको आग्रह
गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा योजना मन्त्री रेणुकुमारी यादवलाई बर्खास्त गर्न नेकपा (एमाले) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको प्रधानमन्त्री देउवासँगको भेटवार्तामा एमाले अध्यक्ष ओलीले मन्त्री यादवलाई बर्खास्त गर्न आग्रह गरेका हुन्। गौर नरसंहार दोहोर्याउने हिंसात्मक अभिव्यक्ति दिएकाले बर्खास्त गर्न अध्यक्ष ओलीले आग्रह गरेको एमाले महासचिव शंकर पोखरेलले बताए।
भेटवार्ताका क्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई भने, “गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति मानवता विरुद्धको अपराध हो। त्यसैले मन्त्रीबाट बर्खास्त गर्नुस्।”
५ माघमा रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्षित गर्दै गौर नरसंहार दोहोर्याउने धम्की दिएकी थिइन्। २०६३ चैतमा तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताको आक्रमणबाट माओवादी समर्थित २८ जनाको ज्यान गएको थियो।
यस विषयमा मन्त्री यादवसँग राष्ट्रिय मानव अधिकार आयोगले पनि स्पष्टीकरण लिएको थियो। उनले आयोगलाई स्पष्टीकरण दिंदै आफ्नो अभिव्यक्ति असन्तुलित र अनियन्त्रित भएको स्विकार्दै भविष्यमा त्यस्तो नदोहोर्याउने प्रतिबद्धता जनाएकी थिइन्।