सवारी साधनको जोर-बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिश
कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ।
सीसीएमसीको आइतबार बसेको बैठकले सवारी साधनमा लागू भएको जोर-बिजोर प्रणाली हटाउन सिफारिश गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले बताए। कोभिड-१९ को सङ्क्रमण कम हुँदै गएकाले जोर-बिजोर प्रणालीले हटाउने निर्णय भएको डा. पोखरेलले बताए।
कोरोनाभाइरसको तेस्रो लहर शुरू भएपछि सवारी साधनमा जोर-बिजोर प्रणाली लागू भएको थियो। पछिल्लो समय सार्वजनिक सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटेको थियो। तर, निजी सवारी साधनमा जोर-बिजोर प्रणाली यथावत् छ।
यससँगै सीसीएमसीले १ फागुनबाट विद्यालय खोल्न पनि सिफारिश गर्ने निर्णय गरेको छ। कोरोना सङ्क्रमण बढ्दै गएपछि देशभरका विद्यालय बन्द गरिएको थियो।