एमसीसीले जुराएको देउवा, ओली र दाहालको भेट
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पमकल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री देउवाले बोलाएपछि आइतबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल बालुवाटार पुगेका हुन्। प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक ओली बालुवाटार पुगेका हुन्।
अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा छलफल गर्न तीनै नेता बालुवाटारमा भेटवार्तामा जुटेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। अमेरिकाले एमसीसी पारित गर्ने/नगर्ने विषयमा निर्णय गर्न पत्राचार गरेपछि प्रधानमन्त्री देउवा छलफलमा जुटेका हुन्।
एमसीसी सम्झौतालाई संसद्बाट पारित गर्ने विषयमा सत्तारूढ दलबीच नै विवाद उत्पन्न भएको छ। नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) एमसीसी पारित गर्नुपर्ने पक्षमा छन्।
तर, सत्तारूढ गठबन्धनकै माओवादी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा यसको विपक्षमा उभिएका छन्। त्यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने एमसीसी पारित गर्नुपर्ने पक्षमा छ।
यही विवादबीच प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाललाई छलफलका लागि बालुवाटार बोलाएका हुन्। छलफलमा उनीहरूसँगै माओवादी नेता नारायणकाजी श्रेष्ठ र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन्।
एमसीसीसँगै स्थानीय चुनाव र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।