प्युठान दुर्घटना: मृतकको सङ्ख्या आठ पुग्यो, सात जनाको सनाखत
प्युठानमा बेहुली लिएर घर फर्किरहेका जन्ती सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ। उनीहरूमध्ये सात जनाको सनाखत भएको छ।
आज बिहान गौमुखी गाउँपालिका-६ ओखरपाटामा ग.१ज ५०९३ नम्बरको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, प्युठानका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा गौमुखी गाउँपालिका-६ का दम्पत्ती वसन्त खड्का र वसन्ता खड्का तथा उनीहरूकी छोरी एलिशा खड्काको मृत्यु भएको छ। त्यस्तै, सोही गाउँकी केशरी खड्का, नन्दी खड्का, खिम खत्री र बले बुढा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। एक जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए।
आइतबार बिहान ३ बजे दुर्घटना भएको थियो। राति दुर्घटना भएकाले उद्धारमा समय लागेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरेका थिए।
दुर्घटनामा पाँच जना घाइते भएका छन्। जसमा दुई जना बेहुलाबेहुली पनि रहेका छन्। बेहुली सावित्री जीसी सहित गम्भीर घाइते तीनलाई उपचारका लागि बुटवल लगिएको थापाले जानकारी दिए।
त्यस्तै, बेहुला दानबहादुर खड्का सहित दुई जनाको प्युठान जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।