गुह्येश्वरीदेखि थापाथलीसम्मका संरचना हटाइने
काठमाडौंको गुह्येश्वरीदेखि थापाथली पुलसम्म बागमती किनारको दायाँ–बायाँ बनेका अनधिकृत अस्थायी एवं स्थायी संरचना हटाइने भएको छ।
यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरी सात दिनभित्र हटाउन आग्रह गरेको छ। नदी किनारमा बनेका अस्थायी संरचना तीन दिनभित्र र स्थायी संरचना सात दिनभित्र हटाउन समितिको आयोजना उपप्रमुख अमित रञ्जितले जारी गरेको सूचनामा उल्लेख छ।
यसअघि पनि यस्ता संरचना हटाउन पटक पटक सार्वजनिक सूचना जारी गरी जानकारी गराइएकामा त्यसको बेवास्ता भएकाले पुनःसूचना प्रकाशन गरिएको समितिले जनाएको छ।
तोकिएको समयभित्र अनधिकृत संरचना नहटाएमा समितिले आफैँ भत्काउने र लागेको खर्च संरचना निर्माण गर्ने व्यक्ति एवं पक्षबाट सरकारी बाँकी सरह उठाउने चेतावनी दिएको छ।
समितिले यसअघि गोकर्णबाट गुह्येश्वरीसम्म नदी किनारमा बनेका करीब चार दर्जन स्थायी एवं अस्थायी संरचना पनि हटाएको थियो। (रासस)