कमल थापा र रवीन्द्र मिश्रले एकैदिन स्थगित गरे एकता अभियान र यात्रा
पृथ्वीनारायण शाहको जन्मदिनको अवसरमा राप्रपा पूर्व अध्यक्ष कमल थापा र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गर्न लागेको एकता अभियान र यात्रा स्थगित भएको छ।
राप्रपा पूर्व अध्यक्ष थापाले पृथ्वीनारायण शाहको जन्मदिन २७ पुसमा ‘राष्ट्रिय एकता अभियान’ सञ्चालन गर्ने तयारी गरेका थिए। कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि अभियान स्थगित गरिएको थापाले जनाएका छन्।
उनले आइतबार अभियान स्थगित गरेको घोषणा गरेका हुन्। थापाले भनेका छन्, “पुस २७ गते शुरू गर्न लागिएको ‘राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरूबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ।”
त्यस्तै विवेकशील साझाले पनि आइतबार सूचना जारी गरी ‘राष्ट्रिय एकता यात्रा’ स्थगित गरेको जनाएको छ। विवेकशील साझाले अध्यक्ष मिश्रको नेतृत्वमा २७ पुसमा ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ गर्ने तय गरेको थियो। कोरोनाका कारण यात्रा स्थगित भएको विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले जनाएका छन्।
“झापादेखि कञ्चनपुरसम्मका दर्जनौँ स्थानमा अध्यक्ष रवीन्द्र मिश्रसहित उच्च नेतृत्व सहभागी भई आमसभा र अन्तरक्रिया गर्ने अन्तिम तयारी भइसकेको अवस्थामा पछिल्ला दिनमा ह्वात्तै बढेको कोरोनाभाइरस सङ्क्रमणको स्थितिलाई दृष्टिगत गरी पार्टीले यात्रा स्थगन गर्ने निर्णय गरेको हो,” विवेकशील साझाले भनेको छ।
पार्टीका कयौँ नेता र सदस्यहरू तीन सातासम्म सँगै लगातार यात्रा र उठबस गर्दा सङ्क्रमित हुनसक्ने जनस्वास्थ्य विज्ञहरूको सुझाव, यात्राका क्रममा भेटिने सदस्य, शुभेच्छुक तथा आम नागरिकमा समेत सङ्क्रमण फैलन सक्ने जोखिमलाई गम्भीरतापूर्वक मनन गर्दै यात्रा स्थगित गरिएको जनाइएको छ। विवेकशील साझाले भनेको छ, “निकट भविष्यमा अनुकूल समय पारेर ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ गरिनेछ।”