कसरी चयन गरिंदै छन् माओवादीका २९९ केन्द्रीय सदस्य?
नेकपा (माओवादी केन्द्र)को निर्वाचन आयोगले २९९ केन्द्रीय सदस्यको चयन प्रक्रिया सार्वजनिक गरेको छ।
काठमाडौंमा जारी आठौं महाधिवेशनबाट पारित संशोधित विधान अनुसार, निर्वाचन आयोगले केन्द्रीय सदस्य चयनको प्रक्रिया सार्वजनिक गरेको हो। आयोगले कुन क्लस्टरबाट कति जना केन्द्रीय सदस्य चयन गरिने भन्ने सूची बनाएको छ।
माओवादीका २९९ केन्द्रीय सदस्यमध्ये १४५ जना खुलाबाट चयन हुनेछन्। त्यसमा जुनसुकै क्लस्टरको प्रतिनिधिले पनि उम्मेदवारी दिन पाउनेछन्।
त्यसपछि समानुपातिकबाट आउने केन्द्रीय सदस्यका विभिन्न क्लस्टर छुट्याएको छ। समानुपातिक अन्तर्गत खस आर्यका लागि ४५ सीट तोकिएको छ।
त्यस्तै, दलिततर्फ २२, मुस्लिमतर्फ ७, मधेशीतर्फ २२, आदिवासी जनजातितर्फ ४३, थारूतर्फ १०, अपाङ्गता भएका व्यक्तितर्फ २ र पिछडिएको क्षेत्रतर्फ २ केन्द्रीय सदस्यको सीट निर्धारण गरिएको छ। त्यसभित्र पनि महिला, पुरुष र युवाका लागि छुट्टाछुट्टै क्लस्टर बनाइएको छ।
यससँगै निर्वाचन आयोगले शनिबारको चुनावी कार्यक्रम संशाेधन गरेको छ। शनिबार राति ८ बजेदेखि तोकिएको उम्मेदवारी दर्ता कार्यक्रम आइतबार दिउँसो २ बजेदेखि हुने भएको छ।
निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले जारी गरेको सूचनामा आइतबार दिउँसो २ देखि साढे ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। साँझ ५:४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ भने साँझ ६:२५ बजेदेखि राति १०:२५ बजेसम्म मतदान हुने जनाइएको छ।
मतदान सकिएलगत्तै मतगणना हुने आयोगका अध्यक्ष श्रेष्ठले जनाएका छन्।