माधव नेपालसहित चार नेतामाथिकाे निलम्बनकाे कारबाही फिर्ता
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनामाथिकाे कारबाही फिर्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले निलम्बनकाे कारबाही फिर्ता लिने निर्णय गरेको स्थायी समिति सदस्य सुवास नेम्वाङले बताए।
नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि गरिएको निलम्बनकाे कारबाही फिर्ता भएको हो ।
सर्वोच्च अदालतको आदेशपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएका थिए। त्यस लगत्तै २८ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका केन्द्रीय सदस्यको बैठक बोलाएर नेपालसहित पदाधिकारीको जिम्मेवारी खोसेका थिए। माओवादीबाट आएका गृहमन्त्री रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए
एमाले पदाधिकारीको जिम्मेवारी खोसिएपछि नेपाल पक्षले विरोध गरेको थियो। उनीहरूले राष्ट्रिय कार्यकर्ता भेला बोलाएका थिए।
पार्टी विरोधी गतिविधि गरेको भन्दै अध्यक्ष ओलीले नेपालसहित चार नेतालाई ६ महीनाका लागि निलम्बन गरेका थिए। त्यही कारबाही आजको स्थायी समिति बैठकले फिर्ता गरेको हो।