अध्ययन भन्छ- भिटामिन–डी र ओमेगा–३ वृद्धवृद्धालाई कोरोना संक्रमण रोक्न उपयोगी हुनसक्ने
एक अध्ययनले नियमित र आवश्यक मात्रामा भिटामिन–डी वा ओमेगा–३ को सेवनले कोरोना संक्रमित वृद्धवृद्धाको रोगविरुद्ध लड्ने प्रतिरक्षा प्रणाली बढाउने र कोभिड–१९ जस्ता संक्रमण रोक्न सहयोग पुर्याउन सक्ने देखाएको छ।
बेलायतको पत्रिका डेलीमेलमा प्रकाशित उक्त समाचार अनुसार दुई हजार भन्दा बढी सेवा निवृत्त भएका वृद्धवृद्धामा गरिएको अध्ययनले भिटामिन–डी वा ओमेगा–३ का चक्कीले अन्य विभिन्न खालको संक्रमण हुने जोखिम घटाउने देखाएको हो। तर, यसो गर्दा हड्डीको समस्या, स्मरण र मांशपेशीको काममा कुनै प्रभाव नपार्ने अध्ययनले देखाएको छ।
अध्ययनले भिटामिन–डीको सेवनले संक्रमितको शरीरमा भाइरस वृद्धिलाई रोक्ने र संक्रमित भइहालेमा बचाउन सक्ने सम्भावना रहेको देखाएको छ।
बेलायतको हेल्थ एण्ड सोसियल केयरका स्टेट सेक्रेटरी म्याट ह्यान्कक्ले गत महिना मानिसहरूलाई उनीहरूको समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन डि सेवन गर्न आग्रह गरेको डेलीमेलले जनाएको छ।
यस्तै, उनले बेलायत सरकारले खाद्य पूरकको उपयोगलाई प्रोत्साहित गर्न सार्वजनिक स्वास्थ्य सन्देश पठाउने तयारी गरेको बताएका थिए।
अध्ययनको नेतृत्व गरेका स्वीजरल्याण्डको ज्यूरिच युनिभर्सिटीका प्रध्यापक हाइके बिचफ् फेरारीले अध्ययनका नतिजाले भिटामिन–डी वा ओमेगा–३ का सप्लीमेन्टले ७० वर्ष वा सो भन्दा माथिका व्यक्तिमा सक्रिय जीवनशैलीका लागि सहयोग पुर्याउने देखाएको बताएका छन्। उनले कोरोना संक्रमणमा यी सप्लिमेन्टहरू उपयोगी हुन सक्ने देखिएको बताएका छन्।
७० वर्ष वा सोभन्दा माथिका २ हजार १५७ जना स्वस्थ पुरुष र महिलामा गरिएको अध्ययनबाट निस्केको नतिजा बिश्लेषण गर्दा ओमेगा–३ प्रयोगकर्ताहरूमा ११ प्रतिशतभन्दा कम संक्रमण हुने सम्भावना रहेको पाइएको छ। उक्त अध्ययन कोरोना भाइरस संक्रमण फैलिनुअघि सन् २०१२ देखि २०१४ को अवधीमा गरिएको हो।
त्यसैले अध्ययनका नतिजाहरूबाट ती सप्लीमेन्टको सेवनले वृद्धवृद्धालाई कोरोना भाइरसको संक्रमण विरुद्ध बचाउन सक्ने विषयका कुनै सिधा प्रमाण फेला पर्न सकेका छैनन्। तर, अन्य संक्रामक रोगमा यी सप्लीमेन्टको सेवनले हुने फाइँदाका आधारमा विज्ञहरूले कोरोना संक्रमणमा पनि सप्लीमेन्टको सेवनले संक्रमण रोक्न उपयोगी हुनसक्ने बताएका हुन्।
१० नोभेम्बरमा अमेरिकन मेडिकल एशोसियनको जर्नलमा प्रकाशित उक्त अध्ययनले ओमेगा–३ को सेवनले मुत्र प्रणाली र माथिल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण क्रमशः ६२ र १० प्रतिशतले हटाउने उल्लेख गरेको छ।
यसैगरी भिटामिन–डी कोे सेवनले ७० देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण हुने जोखिम १६ प्रतिशतले घटाउने देखाएको छ। यस्तै, अध्ययनका क्रममा भिटामिन–डी कोे सेवन गरेका उक्त उमेर समूहका पुरुषहरूमा उच्च रक्तचाप २.५ एमएमएचजीले कम गरेको देखाएको छ।
यसअघि भएका विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले कोरोना संक्रमित ८० प्रतिशत भन्दा बढी व्यक्तिमा भिटामिन डिको कमी रहेको देखाएका छन्।