डा. केसीका माग सम्बोधन गर्न भइरहेको वार्ता स्थगित, छलफल सकारात्मक
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी पक्षधर र सरकारी वार्ता टोलीका सदस्यहरूबीच सिंहदरबारमा भएको छलफल स्थगित भएको छ। डा. केसीका तर्फबाट वार्ता टोलीमा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले ‘दुवै पक्षले आन्तरिक गृहकार्य गर्नुपर्ने भएकाले ब्रेक लिइएको’ बताएका छन्।
उनले दुवै पक्षबीच भएको वार्ता सकारात्मकउन्मुख भएको समेत बताएका छन्। “डा. केसीले राखेका मागका सबै बुँदामा सकारात्मक छलफल भइरहेको छ,” अधिवक्ता अर्यालले भने। अहिले दुवै पक्ष आन्तरिक छलफलमा जुटेपनि आज राति नै पुनः बैठक बस्ने वा नबस्ने टुंगो लागिसकेको छैन।
अधिवक्ता अर्यालका अनुसार आज राति पुनः वार्ता हुन नसके शुक्रबार बिहान दुवै पक्षबीच वार्ता हुनेछ। डा. केसीले राखेका माग सम्बोधन गर्न बिहीबार बिहानदेखि शिक्षा मन्त्रालयमा दुवै पक्षबीच वार्ता शुरू भएको थियो।
वार्तामा डा. केसीका तर्फबाट संयोजक डा. जीवन क्षेत्री र सदस्यहरूमा अधिवक्ता ओमप्रकाश अर्याल, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा छन्।
यस्तै, सरकारका तर्फबाट वार्ता टोलीको संयोजकमा शिक्षा सचिव गोपिनाथ मैनाली र सदस्यहरूमा चिकित्सा शिक्षा आयोगका डा. दिपिल शर्मा र स्वास्थ्य मन्त्रालयका डा. गुणराज लोहनी छन्।
चिकित्सा शिक्षा सुधार लगायतका ६ बुँदे माग राखेर डा. केसीले २९ भदौदेखि जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित् बाबिरा मष्ट मन्दिरबाट अनशन शुरू गरेका थिए। बिहिवार उनी अनशन बसेको २५ औँ दिन पुगेको छ। जुम्लाबाट काठमाडौं ल्याइएपछि डा. केसी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशन बसिरहेका छन्।