डा. केसी ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएर त्रिवि शिक्षण अस्पतालमा
अनसनरत डा. गोविन्द केसी ट्रमा सेन्टरबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। काठमाडौं झरेपछि नै शिक्षण अस्पताल जान खोजेका केसीलाई प्रहरीले जबरजस्ती महाँकालस्थित ट्रमा सेन्टरमा पुर्याएको थियो। त्यहाँबाट उनले स्वेच्छिक डिस्चार्ज लिएपछि अहिले ६.३० बजे सहयोगीका साथ उनी महाराजगञ्ज पुगेका हुन्।
उनका सहयोगी प्रितम सुवेदिका अनुसार डा. केसीलाई अहिले त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरेर स्वास्थ्य जाँच भइरहेको छ।
जुम्लामा अनशनरत डा. केसीलाई स्वास्थ्यमा समस्या आएपछि मंगलबार त्यहाँबाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको हो।
आजै नेपालगञ्जबाट काठमाडौं आइपुगेका केसीले शिक्षण अस्पतलमा आफूलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि उनलाई शिक्षण अस्पताल सारिएको हो।
केसीका समर्थकहरुले ‘वि आर विथ जिकेसी’, ‘डा केसी एक्ला छैनौं, हामी तिम्रो साथ छौं’ लगायतका नारा लगाएका थिए।