कम्युनिष्ट नेताहरुकी आश्रयदाता बालकुमारीको निधन
कम्युनिष्ट नेताहरुकी आश्रयदाता मकवानपुरकी बालकुमारी थापाको निधन भएको छ। हेटौंडा उपमहानगरपालिका–१७ राजदेवी घर भएकी थापाको मुटुमा पेसमेकर राखिएको थियो।
पछिल्लो केही महीना बिरामी रहेकी उनलाई सोमबार दिउँसोदेखि केही गाह्रो भएपछि अस्पताल लगिए पनि बाटैमा निधन भएको नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले जानकारी दिइन्।
उनले भनिन्, “पेसमेकरले त राम्रै काम गरिरहेको भन्नु हुन्थ्यो, तर एक्कासी हिजो गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भयो।”
७६ वर्षीया उनको श्रीमान र तीन छोरा, बुहारी तथा नातिनातिनी छन्।
उनको घर मकवानपुरकै पहिलो सेल्टर घर भएको कम्युनिष्ट नेताहरु बताउँछन्। आफ्नाे घरलाई थापाले २०३३ देखि २०४६ सालसम्म पार्टी कार्यालय जस्तै बनाएको नेकपाका स्थायी समिति सदस्य मुकुन्द न्यौपाने बताउँछन्।
याे पनिः कम्युनिष्टकी गुमनाम 'सेल्टरदाता'
(*सम्पादित)