दाहाल तीन दिन चितवनमै रहने, एकता बिथोल्ने गतिविधि नगर्न आग्रह
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल तीन दिन चितवनमै रहने भएका छन्। शनिबार चितवन गएका दाहाल सोमबारसम्म विभिन्न कार्यक्रममा रहने उनका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले बताए।
“तीन दिनसम्म निर्वाचन क्षेत्रका स्थानीय नेताहरुसँग रहने कार्यक्रम छ। पर्सि (सोमबार) साँझ काठमाडौं आउनुहुन्छ”, उनले भने। शुक्रबार एक साताका लागि स्थायी कमिटी बैठक स्थगित गरेर दाहाल चितवन पुगेका हुन्।
चितवन पुगेर दाहालले देश र पार्टी दुर्घटनामा पर्न सक्ने अवस्थाबाट जोगिएको संकेत दिए। स्थानीय कार्यकर्तासँग दाहालले भने, “एउटा अध्यक्षको हैसियतले देश र पार्टी दुर्घटनामा जानसक्ने अवस्थाबाट जोगाउन लागी पर्ने विश्वास दिलाउन चाहन्छु।” उनले आफूले हतार गरेको भए पार्टी दुर्घटनामा जाने अवस्था रहेको बताएका थिए। दाहालले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै चितवन आएको पनि बताए।
नेकपाको स्थायी कमिटी बैठक २ साउनसम्म स्थगित गरिएको छ। देशभर बाढी पहिरोको प्रकोप बढेको भन्दै स्थायी कमिटी बैठक स्थगित गरिएको छ। बैठक स्थगित गरेपछि प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले पनि शुक्रबार राति देशबासीको नाममा सम्बोधन गर्दै पार्टीभित्रको कलह आन्तरिक र नियमित प्रक्रिया भएको बताएका थिए।
प्रदेश–५ का मुख्यमन्त्री रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल पनि शुक्रबार नै बुटवल फर्किएका छन्। बुटवल फर्किएपछि मुख्यमन्त्री पोखरेलले पार्टी विभाजन हुनबाट रोक्ने कार्यमा लागिपरेका सबैलाई धन्यवाद दिएका थिए।
शनिबार चितवन पुगेका अध्यक्ष दाहालले कार्यकर्ताहरुलाई पार्टी दुर्घटनामा जाने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्। पार्टीभित्रको विवाद सकारात्मक दिशातर्फ अगाडि बढेको सन्देश दिदै दाहालले एकतालाई कमजोर बनाउन कुनै पनि बहाना हुन नहुने बताए।
गएको १० असारदेखि शुरु भएको नेकपा स्थायी कमिटी बैठककै बीच पार्टी विभाजन नजिक पुगेको छ। विशेषगरी प्रधानमन्त्री ओलीले मदन जयन्तीको अवसरमा आफूलाई हटाउन भारतीय दूतावास सक्रिय भएको र नेपालकै नेताहरुले राजीनामा मागेको सार्वजनिक अभिव्यक्ति दिएपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको थियो। १६ असारमा प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको स्थायी कमिटीमा राजीनामा मागिएको थियो।
प्रधानमन्त्री ओलीले दुवै पद नछोड्ने बरु, पार्टी विभाजन गर्ने चेतावनी दिएका थिए।