पूर्व राजा ज्ञानेन्द्रको प्रश्न: नागरिकहरू सडक संघर्षमा उत्रिरहनुपर्ने अवस्था किन सिर्जना भइरहन्छ?
पूर्व राजा ज्ञानेन्द्र शाहले नेपालको राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकताको विषयलाई आजको समयमा आरोप, प्रत्यारोप वा प्रतिशोधको भावना राखेर कसैको हित नहुने बताएका छन्।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै शाहले नेपालको एकीकरण, स्वाधीनताको संरक्षण कसले र कोबाट भयो भन्ने सबैको हेक्काको विषय भइसकेको बताएका हुन्।
उनले त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जानसक्नुपर्ने भन्दै विज्ञप्तिमा विगतबाट पाठ सिक्नुपर्ने धारणा राखेका छन्।
भ्रष्टाचार र भेदभावको विषयलाई लिएर नागरिकहरू सधैं सडकमा आइरहनुपर्ने अवस्था सिर्जना कसरी भइरहेको छ भन्ने प्रश्न उठेको भन्दै पूर्व राजा शाहले यस्ता विषयलाई लिएर देशभक्त नागरिकहरू सडक संघर्षमा बारम्बार उत्रिरहनुपर्ने अवस्था सिर्जना किन भइरह्न्छ भन्ने विषयमा प्रश्न उठाएका छन्।
उनले कोरोना महामारीका अवधिमा मानसिक वेदना, सामाजिक विकृति एवम् आर्थिक बेथिति बढेको भन्दै कोरोना महामारीका बेला नेपाली जनताले भोग्नुपरेको गाँस, बास र कपासको समस्या समाधान गर्न सरकारलाई आग्रह समेत गरेका छन्।
शाहले नेपाल बहुजातीय, बहुभाषिक र बहुविविध भौगोलिक विशेषता रहेको बताउँदै परस्पर मेलमिलाप, समन्वय, एकता तथा सामाजिक सद्भाव हाम्रो सनातनिक मान्यता भएको उल्लेख गरेका छन्।
शाहले राष्ट्रको विषम परिस्थितिलाई दृष्टिगत गरेर यही असार महीनामा पर्ने आफ्नो जन्मदिन उत्सवकाे रुपमा नमनाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।